"2513058968709111" /> ख्याल गर्नुस है ! जाडो बढेको बढ्यै छ............ - अनिश शर्मा गैरे
Breaking News
recent

ख्याल गर्नुस है ! जाडो बढेको बढ्यै छ............

जाडो याममा हुने स्वास्थ्य समस्या र बच्ने उपाय
पुसको पहिलो हप्ता नै बिहान बेलुका निकै चिसो बढेको छ । चिसो बढेसँगै जाडोयाममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ । जाडोयाममा बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गरेको छ ।
बालबालिकामा पनि भर्खर जन्मेका शिशुमा समस्या बढी देखिने सम्भावना रहन्छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेर बहादुर पुनका अनुसार चिसो मौसम र वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले अहिले अस्पतालमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास, निमोनियाका बिरामी बढेका छन् ।
यतिमात्र होइन जाडोयाममा चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरिरमा सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउला, लगायत मुटु कमजोर हुने जस्ता समस्या पनि देखिन्छन् । यो बेलामा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने जस्ता समस्या पनि हुन्छ ।
चिसोले विशेष गरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ । साथै शितलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने डाक्टर पुनले बताउँनुभयो ।
तर केही साधारण कुरामा ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिन्छ । डाक्टरका अनुसार चिसोको बेला आराम, व्यायाम र खानपानमा भने ध्यान दिनु आवश्यक छ ।

सरुवा रोगको जोखिम बढी

वैशाख १२ गतेको भूकम्प पछि विस्थापित नागरिक सामुहिक रुपमा बसेकाले र इन्धन अभावमा सवारी साधनमा कोचाकोच हुने गरी हिँड्नुपरेकाले सर्ने रोगहरुको झनै जोखिम बढेको डाक्टरले बताएका छन् ।
बसभित्र अट्न नसकी छतमा यात्रा गर्ने निमोनियाको जोखिममा छन् । क्षयरोगको संक्रमण, श्वासप्रश्वास र अन्य सम्पर्कबाट सर्ने रोग यस्तो बेला बढि नै सर्ने गर्छन् । समुहमा बस्दा र भिडभाडमा सामान्य सावधानी पनि अपनाउँन नसक्दा सर्ने खालका रोग एउटाबाट अर्कोमा छिट्टै सर्न सक्छ ।

रुघाखोकी प्रमुख समस्या

चिसो बढेसँगै सामान्य रुघाखोकीको समस्या समेत बढ्दै गएको छ । मौसम परिवर्तन हुँदा रुघाखोकीले समाउने र थलिनेहरू बढिरहेका छन् । अस्पताल र स्वास्थ्य केन्द्रमा पनि प्रभावितहरूको संख्या बढेको छ । डाक्टरका अनुसार मौसम परिवर्तन हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र रुघाखोकीको संक्रमण बढ्ने गर्छ ।
सामान्य रुघाखोकीमा अर्थात मौसमी रुघाखोकीमा नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिउँ आइरहने, खान मन नलाग्ने, थकाइ अनुभव हुने जस्ता लक्षण देखा पर्ने इपिडिमीयोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बावुराम मरासिनीले बताउँनुभयो ।
रुघाखोकीले अरु रोग पनि निम्ताउँछ

रुघाखोकीले मधुमेह, उच्च रक्तचाप, क्षयरोग, दम, एचआईभी, रक्तअल्पता जस्ता रोग लागेका, बालक, बुढापाका, कुपोषित, रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी सताउँछ । रुघाखोकीको उपचार बेलैमा नगरे पछि नाक बन्द हुने र पिनासको समस्या समेत हुन सक्छ ।

यस्तो बेला के गर्ने ?

रुघाखोकी लागेका बेला सकेसम्म आराम गर्नुपर्छ । धुलोधुवाँबाट पनि जोगिनु राम्रो हुन्छ । रुघाखोकीबाट बच्न भिडभाडमा जानु हुँदैन, सकेसम्म मनतातो पानीले नुहाउने गर्नुपर्छ । नुहाएपछि घरमा पाइने तोरीको तेल घसेर केही समय घाममा बस्नु उत्तम हुन्छ । साथै खानपानमा पनि ध्यान दिनुपर्छ ।
रुघाखोकीबाट जटिल समस्या ननिम्ताउन हप्ता दिन भित्र डाक्टरको सल्लाह लिन सकिन्छ । रुघाखोकीबाट जोेगिन सम्भव भएसम्म तुलसीको पात, अदुवा, बेसार, मरिचको काढापानी बनाएर चिया जस्तै खाने गरे स्वास्थ्यलाई फाइदा हुन्छ । मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीमा फाइदा हुन्छ ।
बिहान बेलुका अदुवाको रस र मह मिसाएर खाने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । लसुनको पोटीलाई तातो पानीमा उमालेर पिउनाले पनि आराम हुन्छ । घाँटीमा खसखस भए अथवा नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नुन हालेर कुल्ला गर्न सकिन्छ ।

श्वासप्रश्वासको समस्या

जाडो मौसममा श्वासप्रश्वाससँग सम्बन्धित स्वास्थ्य समस्या बढी देखिने भएकाले चिसोबाट बच्न डाक्टरको सल्लाह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. मरासिनीका अनुसार जाडोमा छातीमा कडा खालको समस्या देखिन्छ भने मुटु र रक्तनलीहरुमा पनि समस्या देखिन्छ ।
चिसोका बेला हावामा प्रदुषणको मात्रा बढी हुने भएकाले नाक र मुखको माध्यमबाट फोक्सोसम्म नै कणहरु पुग्ने उहाँले बताउनुभयो । जाडोमा धुलोका कणहरु प्रशस्त मात्रामा रहने हुँदा हिँडडुल गर्दा विशेष सतकर्ता अपनाउनुपर्छ ।

के गर्नु हुँदैन

जाडोको मौसममा सकेसम्म विहान सबेरै मर्निङवाक् नगर्न र गर्ने परे नाक र मुख राम्रोसँग छोप्ने, छातीमा चिसो नपस्ने खालका कपडा र मास्क लगाउने साथै मुख छोपेर कडा व्यायाम गर्नु हुँदैन ।
यो बेला तराईमा तुषारो, बाक्लो हुस्सु, शितलहर, पहाड र हिमालमा हिउँ सँगै हुने चिसोले जनजिवन कष्टकर नै बनाउँछ । तर चिसो भयो भन्दैमा पुरै झ्याल ढोका बन्द गरी बस्ने, हावा नै नछिर्ने ठाउँमा नुहाउने, बन्द कोठामा भुसको आगो बाल्ने, हिटर, कोइला बालेर ताप्ने गर्नु हुँदैन ।
किनभने अक्सिजनको मात्रा कम हुँने ठाउँमा आगोले कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यास उत्र्सजन गरी शरिरलाई आवश्यक पर्ने अक्सिजन कम भइ बिस्तारै अचेत हुने र ज्यानै समेत जान सक्छ ।

आफ्नो सुरक्षा आफैले गरौं

चिसोमा रुघाखोकी, श्वासप्रश्वास मात्र होइन रक्तनलीमा रगत जम्ने समस्या पनि हुने भएकाले बेला बेलामा स्वास्थ्य जाँच गरिरहनुपर्छ । दम, निमोनिया, ब्रोङ्काइटिस र मुटुसम्बन्धी रोगका विरामीले पनि उपचार गराउनुपर्दछ ।
भिडभाडमा नजाने, शरीरलाई न्यानो राख्न तातो र बाक्ला लत्ताकपडा लगाउने, रोग लागेका व्यक्तिबाट टाढै बस्ने र सके सम्म आफै सुरक्षाका उपाय अपनाउनु पर्छ ।

जोखिम घटाउँन के गर्न सकिन्छ ?

नाकाबन्दीले इन्धन र ग्यास नपाइँदा तातो खाने, बनाउने जस्ता कुरा सहज नहोला तर घरमा भएका कपडा, १५÷२० रुपैयाँमा पाइने मास्क लगाउन सकिन्छ । यसले पुरै नभएपनि रोगको जोखिम केही मात्रामा घटाउन सहयोग गर्ने डा. पुनले बताउनुभयो ।
अरुले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने,े समय समयमा तातो तरल पदार्थको सेवन गर्ने र रक्सी, चुरोटबाट टाढै रहने हो भने पनि स्वास्थ्यलाई फाइदा नै गर्छ ।
समग्रमा जाडोयाममा न्यानो लुगा, टोपी, मास्क लगाएर हिड्नुपर्छ ।
बन्द कोठा भित्र बसेर भुस, कोइला, हिटरको आगो नताप्ने ।
बन्द बाथरुममा ननुहाउँने । हावा छिर्ने ठाउँमा नुहाउँ र नुहाएरपछि शरिरमा तोरीको तेल घस्ने र घाममा बस्दा फाइदा पुग्छ ।
झोलिला पदार्थ, पोषिलो खानेकुरा, फलफुल,तातो पानी, मांसहारी भए माछा मासु आवश्यकता अनुसार खाने ।
संक्रमित व्यक्तिबाट टाढै रहने, भिडभाडमा नजाने ।
जाडोमा हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने भएकाहरूले सकभर शरिर छोप्ने गरी कपडा लगाउँने ।
विशेष गरी हात, कान र नाकलाई पन्जा, टोपी, गलबन्दी आदिले राम्ररी छोप्ने गर्नुपर्छ ।
अन्त्यमा सावधानी अपनाउँदा अपनाउँदै पनि कुनै समस्या देखिएमा सम्बन्धित विशेषज्ञसँग परामर्श लिने र उपचारतर्फ लाग्ने ।

साभार उज्यालो अनलाइ ।। 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.