"2513058968709111" /> पिकनिक डायरी – २ - अनिश शर्मा गैरे
Breaking News
recent

पिकनिक डायरी – २

घामका रोशनीहरुले पृथ्वीमा डेरा जमाउन थालिसकेका थिए । एउटा सुनौलो बिहान् बिस्तारै घर्कने क्रममा थियो ।जान लागेको पिकनिकको एउटा मनोबैज्ञानिक तयारि गर्दैथिएँ, मनमनै । चिसो बिस्तारै शिथिल हुँदै गएको महसुस हुन्थ्यो । एकप्रकारले ब्यस्त नै थिएँ सोचाईमा,, अझ भनौँ एउटा काल्पनिक पात्र पनि घुम्दै हुदिँ हो मस्तिष्कमा घरिघरी ।
यतिबेला साढे सात भइसकेको छ । घडी नहेर्नुहोला कृपया ।यो पाठकको समय होइन, जन्मन नसकेको प्रेमकथाको दाहसंस्कार गरिएको दिनको शुरूवातीको समय हो । तलबाट बस आउने कुराले कुन समयमा आत्महत्या गर्यो भन्ने कुरा त्यो नआएपछि मात्र थाहा भयो । ’बस बिग्रीयो रे’ नजिकैको साथीले बोल्यो । ’बस काठमाडौ बाटै आउन ढिला भयो रे’ अर्कोले थप्यो । निष्कर्ष यहि थियो, बस नआउने नै भयो ।
सबैको छट्पटी थियो बस नपाइने त होइन?कतै पिकनिक जान नपाइने त होइन ?सबैभन्दा उकुसमुकुस र छटपटि उनैलाइ भएजस्तो लाग्यो, जस्लाई मैले यो पिकनिक सिनेमामा नायिकाको संज्ञा दिएको छु । ’उसँग पिकनिकमा रमाउने कत्ती धोको थियो, बसले गर्दा ढिला भयो’ लाग्यो, उनको सुन्दर गालामा हावाको गतिले यहि भाव लेखिदियो ! तर व्यग्र प्रतीक्षा र हतार अवश्य थियो उनको मनमा पनि ।
जनतन बस त पाइयो, हिड्ने भनेको करिब एक घन्टामा बसमा चढ्यौ हामी । नहुने बेलामा अनावश्यक झनझट आइलाग्छन । बस बिग्रेको खबर आयो हाँडीखोलामा । गुडिरहेकै बेला गाडी एक्कासि घ्याच्च रोकियो । फेरि तनाव भो !
अँ,
बसमा करिब साठी जनाको शरीर देखिन्थ्यो । यो संख्या अझै बढ्नेवाला थियो । अझ उकुसमुकुस हुनेवाला थियो । ती बिचमा तिम्रो र मेरो शरीर मात्र मौजुद थियो, नितान्त मेरो लागि । तिम्रो मनमा के थियो थाहा थिएन तर मेरो मनमा तिमी थियौ ।
बस्ने ठाउँ खोज्दै छु । कतै ठाउँ देखिन्न । आफू सिट नपाएनी उनले पाइन पाइनन् बिचार गर्दैथिएँ । थोरै ठाउँ बचेको देखेँ तिम्रै छेउमा । तर उनको समिपमै गएर बस्ने आँट आएन । तर मनले हिम्मत दिलायो ।
’जा, त्यो सिट तेरै लागि त हो नि’ ! त्यो सिटले पनि मलाइ नै कुरेजस्तो लाग्यो ।
बसेँ ,, सोचे यो खाली ठाउँ मेरै लागि राखेकी हुन् यिनले । कोखैमा आएर बसिदिएहुन्थ्यो भन्ने उनको मनमा पनि थियो क्यारे,
त्यै बेला भन्नू मन थियो, "प्यारी, सिटको एउटा टुक्रा त दियौ, के मनको केही भागमा पनि मेरो लागि आश्रय दिन तयार छौ ? यो बिग्रीरहने बस जति निष्टुरि छैन मेरो दैनिकी, यस्ता बाधाहरु पन्छाएर जिन्दगीको यात्रा गरौँला कालान्तर सम्म ।"
साथीहरु गाडी बिग्रिएकोमा पश्चताप गर्दै थिए । तर म बढी आनन्दित थिएँ । अरुको पिडामा पनि खुशी रहने सक्ने स्वार्थी बनेदिएँ । तर केही छिनमै गाडी फेरि हुइकिन थाल्यो । पिच बाटो कुनै अब्स्ट्याकल थिएन ।
मनमा अब्स्ट्याकल थियो ।
–उनलाइ मेरो प्रेम देखाउन नसक्नु ।
–पहिलो पटक सँगै हुँदा सहज बोल्न नसक्नु ।
–अनि अरु अरु पनि । धेरै नभनौ । केही नभएको खोक्रो भइएला ।
बस पिचबाटोलाइ तिव्र गतिले पछाडी पार्दै कच्ची सडकमा लम्कियो । मन उत्साहित । कच्ची बाटोमा गाडी घरीघरी उफ्रन्थ्यो । त्यो मुभ सँगै हामी दुवैको बडी मुभ हुन्थ्यो । मनमा हलचल हुन्थ्यो । उनीलाइ स्पर्श गर्न पाउने अवसर यहि बसको उफ्राइ हो ।आखिर मैले नचाहेपनी स्पर्श त हुन्थ्यो नै!
चाहान्थेँ, बस उफ्रिरहोस ! उफ्रिरहोस् !तर नपुगोस्, गन्तब्यमा कहिल्यै नपुगोस् ।हरेक काममा आँखा तानि तानी गन्तव्य नियाल्ने म, अहिले गन्तव्य बिर्सेर नितान्त कसैको स्पर्शमा अल्झिरहेँ । बेलाबेलामा शरीर एकाअपसमा ठोक्किन पुग्थे । हाम्रो नजर पनि ठोकिन्थ्यो । अनि केही बेर आँखा नामका दुई थोप्लाहरु निशब्द हुन्थे । गुपचुप रहिरहन्थ्यो ।
मैले मनमनै धेरैलाइ धन्यवाद दिएथे ।
–धन्यवाद सडक, कच्ची भईदिएकोमा ।
–धन्यवाद सरकार, सडक पिच गरेर मलाइ यो अवसरबाट टाढा नराखिदिएकोमा ।
–धन्यवाद समय, मलाइ यो दिन ल्याइदिएकोमा ।
माफ गर्नुहोला, मैले उनलाई नै धन्यवाद दिन बिर्सिएँ, जो संग म जिउदो सपना देखिरहेछु ।हुनसक्छ यो समयमा म उनलाई नै बिर्सेर केवल स्पर्शको दुनियामा त छैन? अहँ म यस्तो हुन कदापी दिनेछैन ।
हामी बीच काल्पनिक कुराकानी ।
‘साथीहरु कल्पे होलान हामी दुइको यो मेल देखेर’
‘हो त, डाह लाग्यो होला’ ।
के सोचेर हो, फ्याट्टै बोलेँ
‘कस्तो लाइराछ?’
‘राम्रै’
यी दुई शब्द ले यात्राको शुरूवात गरे, र अन्त्य पनि गरे । प्रेमको सुरुवातमा यस्तै हुन्छ भन्ने लाग्यो । अरु बोली फुटेको थिएन । खडा रुख जस्तै शान्त थियौ हामी, बरु बेलाबेलामा रुखले पनि आवाज दिइरहन्छ ,आफ्नो मायालुलाइ हावाबाट भएपनी सन्देश छोडिरहन्छ । तर म उनको सामु हुँदा पनि यी दुइ शब्द बाहेक बोल्न सकिन । केही रेकर्ड गर्न योग्य तिम्रो बोली सुने । त्यो स्वासको गति छाम्न सके । स्पर्श महसुस गर्न सके । मनमा हजारौ शब्दका लट्टाहरु फरफराइरहेपनी त्यही बसको उकुसमुकुस जस्तै भयो । मन भित्रै गुम्सिएर रहे धेरै भन्न बाँकी कुराहरु । त्यसै त्यसै खिन्नता बढ्यो !के के भयो के के ।
र यतिन्जेल गन्तब्यमा आईपुगियो ।वास्तविक यात्राको काल्पनिक प्रेमबिलाप समाप्त भयो ।
बस खाली हुने क्रममा थियो । मेरो मन पनि रित्तिन थालीसकेको थियो ।कुनै बुढो मान्छेद्वारा टोकरिमा फालिएको खैनीको डिब्बा जस्तै ।कुनै धोखेबाज युवतिले चाटचुट पारेर फ्यालेको चटपटेको खोल जस्तै,, तर जे होस् एकै सिटमा कोचिएर रहँदा उनिसँगको साथ कति दुर्लभ थियो । बोल्न र लेख्न सकिनेवाला होइन ।
यो मेरो मनको कहानी थियो । शरीर र मन दुवैको होइन । सत्य हुनको लागि शरीर र म, दुवैको तालमेल हुनुपर्छ । मन पछि आइरहेको बसमा थियो, शरीर पहिल्लै जिपले ल्याएर पुर्याएको चौर बिचको ढुङ्गोमा थियो ।
गुरु आए, ‘के भयो, आज धेरै नै टोलाइराको देख्छु त, काममा लागौ’
‘होइन सर साथीहरु कतिबेला आउलान र रमाइलो गरौला भन्ने सोचिरहेको’
गुरु सन्तुष्ट भए । तर वास्तविकता अर्कै थियो । म उनकै समिपमा थिए । अर्को बसमा उनिसँगै आउदै थिएँ । नया प्रेमको कथा बोकेर ।
दिनभरीका कुरा त हिजो नै बताइसकेँ । उनी र म सँगै नाचेको, तर नजिकिएर नाच्न नसकेको, गाइघाट जान नपाएको,तर गाईघाटको झरनामा रुझ्दै सेल्फी लिएको, स्पर्श गर्न खोज्दा उनी लुकेको, अनि दरबारमा हामी राजारानिको एकल स्वतन्त्र जीवन बाचेको ।
दिउँसो करिब एक बजे, हामी दुई कल्पनामै भएपनी गाइघाटको झरनामा पुग्ने बिचार गर्यौ । त्यहा पुगि सेल्फी लिने निर्णय गर्यौ ।
सुन्दर झरना ! सुन्दर परिदृश्य ! अनि सुन्दर साथ । दुई आत्माको मिलन । तिमिलाइ सानै देखि रुझ्न मन पर्थ्यो । यो मलाइ थाहा थियो । चाहेको मान्छेको बारेमा सबै कुरा थाहा हुन्छन । त्यही झरीमा तिमीले डुबुल्की मारेका तस्वीरहरु मेरा नयनले खिचेका थिए । हामी कहिल्यै नमेटिने यादहरु खिच्दै थियौँ । मनमा । मस्तिष्कमा । अनि क्यामेरामा ।
पिकनिक झन्डै उत्तरार्ध तर्फ आइसकेको थियो । रमाइरहेका प्राणीहरु अब त्यहाबाट घाम सँगै बिदा लिनुपर्छ भन्ने भाव जनाइरहेका थिए ।
लाग्यो घडीका काँटाहरु कति चाँडै घुमीसकेछन । घन्टौको यात्रा कति सहजै पूरा गरिसकेछन । बाध्यता थियो । अब हिड्नै पर्ने थियो । गुरुले छिटो छिटो जाने भन्दै बताइरहेका थिए । सायद उनले मेरो मनमा चलिरहेको हुरि देखेनन् । देखेको भएपनी मेरै लागि समय घर्किसक्ने बेलासम्म राख्ने थिएनन् होला ।
पुनः बसको यात्रा शुरु हुन भयो । सहयात्राको अर्को घडी सुरु भयो । पिकनिक कस्तो भयो भन्ने छलफल शुरु हुन लागे ।
उनिसँग धेरै समय बिताउन पाएँ त्यसैले पिकनिक रमाइलो थियो मेरा लागि ।
एउटै सिटमा यात्रा गर्न पाएँ त्यसैले रौनक थियो पिकनिकको ।
मलाइ पछाडी आउने जीपमा राखेर पहिला बसमा जाने उनी सँगको साथ छुटाउने प्रयास थियो कतै । सँगै एउटै बसमा यात्रा गर्ने चाहनामाथी षडयन्त्र जस्तै लाग्यो । तर योजना विहिन षडयन्त्र , अज्ञात षड्यन्त्र। उनिहरुले नगराएको र नचाहेको षड्यन्त्र !
तर यात्रा जसोतसो शुरु भयो । पहिला जस्तो रोमाञ्चकता आएन मनमा । मन गह्रौ भयो । सायद बिछोडको पलले झकझकायो होला । झस्क्यो होला मन अब हुने आजको मिलनको अन्त्यको पल सम्झेर ! फेरि ट्र्या्जिडी शुरु भयो । एउटा दुखद बिछोडको घडी आयो । आयो जसरी पनि आयो । सँगै रमाएको दिनभरको त्यो आनन्द भन्दा कति पिडादायी पल आयो बिछोडको !
मिलन पछि बिछोड त्यो निश्चितप्राय हो । बिछोडपछी मिलन, त्यो पनि निश्चितप्राय हो ।
बिछोड हुनु अहिलेको वास्तविकता हो, तर फेरि मिलनको कुरा गर्भमै छ । लुकेको छ मिलनको वास्तविकता । अनिश्चित छ वास्तविकता ।
यहि हो मेरो बनभोज को कथा !
यहि हो मेरो मिलन र बिछोडको कथा !
यहि हो मेरो पुषे पन्ध्रको अस्तित्व !
यहि थियो मेरो प्रेम । उनै थिइन मेरि काल्पनिक प्रेमिका । जस्लाइ खोजेपनी भेटिएन वास्तवमा । कल्पनामै आइन र कल्पनामै बिछोडको स्वाद चखाएर गइन् । एउटा अनौठो स्वाद । मीठो तर क्षणभङ्गुर स्वाद । अब कहिले भोग्न पाइएला त्यो अर्को मिलनको पल ! र कहिले सजाउला त्यही कल्पनाको तस्वीर मुटुमा ।
प्रतिक्षारत..... !

-अनिश शर्मा गैरे, गुल्मी ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.