आज माघ ८, खोइ त संविधान ?
आज माघ ८ । पूर्वप्रतिबद्धताअनुसार दलहरूले काम गरेको भए संविधान जारी भएको खुसीयालीमा दीपावली गर्नुपर्ने दिन। तर जनताले संविधान पाउनु त कताकता, उल्टै संविधान बन्ने थलो बन्धकमा छ। संविधान बनाउन जनताले चुनेर पठाएका प्रतिनिधि कोही संविधानसभा बैठक कक्षका कुर्सी तोड्दैछन्, कोही आफ्नो मत राख्न नपाएको भन्दै निराश छन्। सहमति नजुटेपछि प्रक्रियाबाट संविधान बनाउने कि नबनाउने भन्ने विवादले संविधानसभा रणभूमि बन्दैछ। प्रक्रियामा जान रोक्न एमाओवादी र मधेसी मोर्चाको गठबन्धन तोडफोड र रोस्ट्रम घेराउमा उत्रिएको छ। कांग्रेस(एमालेसहित सत्तापक्ष प्रक्रिया ९मतदान० बाट विवादित विषय टुंग्याई माघ ८ मै संविधान जारी गर्नुपर्ने अडानमा रहे पनि त्यो सार्थक हुन सकेन ‘माघ ८ मा संविधान आउन नदिन एमाओवादी र मधेसी मोर्चा सफल भएका छन्’, एमाले उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले बुधबार सञ्चारकर्मीसँग भने, ‘सहमति पनि नगर्ने, प्रक्रियामा पनि जान नदिएपछि माघ ८ त्यसै जाने भयो नि।’ संविधानबमोजिम चार वर्षका लागि संविधानसभा गठन भए पनि प्रमुख दलको प्रतिबद्धताअनुसार संविधानसभाले एक वर्षमै संविधान दिने बाचा जनतासँग एक वर्षअघि गरेको थियो। तर एक वर्षमा विघटित पहिलो संविधानसभाका कामको स्वामित्व लिनुबाहेक सभाले केही गर्न सकेन। मुख्य विवादित विषय संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भएको छैन। विवादित विषयमा सहमति नजिक पुगेको नेताहरूको रटानले कहिले सार्थक रूप लेला अड्कल गर्न मुस्किल छ। सहमति जुट्न नसकेपछि कांग्रेस(एमाले प्रक्रियामा गएर निकास दिनुपर्ने अडानमा छन्। संवाद समितिमा पेस भएका प्रस्तावलाई ठाडै मतदानमा लगेर मस्यौदा समितिमा पठाउनुपर्ने माग ती दुई दलको छ। एमाओवादी गठबन्धन संवाद समितिबाटै सहमति खोज्नुपर्ने पक्षमा छ। यो विवादबीच संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रश्नावली समिति बनाएर अघि बढ्ने उपाय निकाले। तर त्यो उपाय रोक्न एमाओवादी गठबन्धन संविधानसभाभित्रै तोडफोडमा उत्रियो। ‘एमाओवादी प्राणी सुध्रिएन’, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भने, ‘संविधान दिन नसके पनि संविधान बन्ने भयो भनेर जनतालाई सन्देश दिन माघ ८ गते प्रश्नावली समिति गठन गर्नुपर्छ।’ तर एमाओवादी(मधेसी गठबन्धनका कारण त्यो सम्भव छैन। ‘संविधानसभालाई प्रक्रियामा लगेर एक महिनाभित्र संविधान बनाउन सकिन्छ भन्ने सन्देश दिन खोज्दैछौं’, एमाले वरिष्ठ नेता झलनाथ खनालले भने। एमाओवादी गठबन्धनले संविधान निर्माण प्रक्रियामा अवरोध खडा गरेर लोकतन्त्र र लोकतान्त्रिक विधि, प्रक्रिया र मान्यताको विरोध गरेको उनको बुझाइ छ। प्रक्रियामा जान नदिन गठबन्धनले दिनहुँ बैठकमा नाराबाजी र घेराउ जारी राखेका छन्। माघ ८ कट्दैमा खासै फरक नपर्ने भन्दै सहमतिबाटै अघि बढ्नुपर्ने एमाओवादी गठबन्धनको धारणा छ। दलहरूबीचको विवादले तत्काल साझा प्रतिबद्धतासमेत आउन नसक्ने अवस्था देखिएको छ।
No comments: