बंगलादेश पहिलोपटक क्वाटर फाइनलमा
उपाधि होडबाट बाहिरियो इङल्यान्ड
काठमाडौं : बंगलादेशको स्कोरलाई सम्मानजनक स्थितिमा पु:याउन महमदुल्लाहले मुख्य भूमिका निर्वाह गरे। उनले एक सय ३८ बलको सामना गरी एक सय तीन रन बनाए।
उनी विश्वकप क्रिकेटमा शतक बनाउने पहिलो बंगलादेशी खेलाडी पनि बनेका छन्। एडिलेड : टेस्ट क्रिकेट खेल्ने मान्यता पाएको सबैभन्दा कान्छो राष्ट्र बंगलादेश जारी विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा पुगेको छ भने क्रिकेटको जननी राष्ट्र इङल्यान्ड उपाधि होडबाट बाहिरिएको छ।
सोमबार भएको खेलमा इङल्यान्डलाई १५ रनले हराउँदै बंगलादेश क्वार्टरफाइनलमा पुगेको हो। पाँचौंपटक विश्वकपमा सहभागिता जनाएको बंगलादेश पहिलोपटक क्वार्टरफाइनलमा पुगेको हो।
बंगलादेश विश्वकपको दोस्रो चरणमा पुगेको भने यो दोस्रोपटक हो। यसअघि सन् २००७ मा वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपमा बंगलादेशले 'सुपर एट' चरणको यात्रा तय गरेको थियो।
हारसँगै इङल्यान्ड विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ। पछिल्लो पाँच विश्वकपमा इङल्यान्ड पहिलो चरणबाटै बाहिरिएको यो तेस्रोपटक हो। पछिल्ला चार भिडन्तमा इङल्यान्डलाई बंगलादेशले हराएको पनि यो तेस्रोपटक हो। अघिल्लो संस्करणमा पनि बंगलादेशले इङल्यान्डलाई हराएको थियो।
बंगलादेशको जितसँगै समूह 'ए'बाट क्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ। उक्त समूहबाट न्युजिल्यान्ड, अस्ट्रेलिया, बंगलादेश र श्रीलंका क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएका छन्। बंगलादेशी टोली समूह 'ए' को चौथो स्थानमा रहे उसले क्वार्टरफाइनलमा छिमेकी प्रतिद्वन्द्वी भारतको सामना गर्नुपर्नेछ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्ड ४८.३ ओभरमा दुई सय ६० रन बनाउँदै अलआउट भयो।
बंगलादेशको स्कोरलाई सम्मानजनक स्थितिमा पु:याउन महमदुल्लाहले मुख्य भूमिका निर्वाह गरे। उनले एक सय ३८ बलको सामना गरी एक सय तीन रन बनाए।
महमदुल्लाहले दुई छक्का र सात चौका पनि प्रहार गरे। उनी विश्वकप क्रिकेटमा शतक बनाउने पहिलो बंगलादेशी खेलाडी पनि बनेका छन्।
खराब सुरुआत गर्दै आठ रनमा दुई विकेट गुमाएको बंगलादेशका लागि महमदुल्लाहले आकर्षक प्रदर्शन गरे। बंगलादेशको पालीलाई उकास्न विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिम र सौम्य सरकारले पनि महत्त्वपूर्ण योगदान गरेका थिए।
रहिमले ७७ बलमा एक छक्का र आठ चौकाको सहयोगमा ८९ रन बनाए। रहिम र महमदुल्लाहले चौथो विकेटका लागि एक सय ४१ रनको साझेदारी गरे। सौम्यले ५२ बलमा ४० रनको पाली खेले।
यसैगरी बंगलादेशी टोलीका लागि सब्बिर रहिमले पनि १४ रनको योगदान गरे। तामिम इक्वाल, इम्रुल काएस र सकिब अल हसनले भने दुई/दुई रनमात्र बनाउन सके। कप्तान मस्रफे मोर्तजा र अराफत सनीले अविजित रहेर क्रमश: ६ र तीन रन बनाएका थिए।
इङल्यान्डका बलर जेम्स एन्डर्सन र क्रिस जोर्डनले दुई/दुई विकेट लिए। स्टुअर्ट ब्रोड र मोइन अलीले पनि एकएक विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्डलाई लक्ष्यसम्म पुग्न नदिन रुबेल होसैनले चार विकेट लिए। मस्रफे मोर्तजा र तास्किन अहमदले दुई/दुई विकेट हात पारे। दुई इङलिस ब्याट्सम्यान भने रन आउट भएका थिए।
इङल्यान्डका ब्याट्सम्यानमा इयान बेल र जस बटलरले अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। बेलले ६३ र बटलरले ६५ रन बनाए। बेलले ८२ बलको सामना गरी सात चौका हिर्काए। बटलरले भने ५२ बलमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए।
इङल्यान्डका लागि क्रिस वोक्सले पनि ४० बलमा अविजित ४२ रन बनाएका थिए। यसैगरी जोय रुटले २९, एलेक्स हेल्सले २७ र मोइन अलीले १९ रन जोडे। अन्य इङलिस ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बटुल्न सकेनन्।
जेम्स टेलरले एक र स्टुअर्ट ब्रोडले नौ रन थपे। इङल्यान्डका इयोन मोर्गन, क्रिस जोर्डन र जेम्स एन्डर्सनले भने खाता खोल्न सकेनन्। शतकीय योगदान दिने महमदुल्लाह खेलको म्यान अफ दी म्याच घोषित भए।
बंगलादेशका कप्तान मस्रफे मोर्तजाले सातजना ब्याट्सम्यान खेलाउने आफ्नो रणनीति सफल भएको प्रतिक्रिया दिए। उनले यो बंगलादेशको क्रिकेट इतिहासको सबैभन्दा ठूलो जित भएको पनि दाबी गरे।
इङल्यान्डका कप्तान इयोन मोर्गनले पहिलो चरणबाटै बाहिरिनुपर्दा निकै दु:ख लागेको बताए। उनले बलरले राम्रो गरे पनि ब्याटिङमा असफल भएका कारण हार भोग्न बाध्य भएको प्रतिक्रिया दिए।
एलिस्टर कुकको राजीनामापछि विगत ६ महिनादेखि इङल्यान्डको कप्तानी गरिरहेका मोर्गनले राजीनामा दिने आफ्नो सोच नभएकोसमेत बताए।
मोर्गनले हारले भविष्यमा सचेत हुन सिकाएको दाबीसमेत गरे। इङल्यान्डका प्रशिक्षक पिटर मोसले पछिल्लो सातआठ महिनामा टिममलाई सन्तुलित बनाउन गरिएको प्रयास विफल भएको बताए। 'अन्तत: हामी असफल भयौं, अब भविष्यबारे सोच्नैपर्छ', उनले भने।
सन् १९९२ को विश्वकपको फाइनलमा पुगेको इङल्यान्डले त्यसपछि भने प्रतियोगितामा गतिलो छाप छोड्न सकेको छैन। खराब प्रदर्शनबाट गुज्रिरहेको इङल्यान्डले आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ। सोही दिन हुने अर्को खेलमा बंगलादेशले आयोजक न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। annapurna
No comments: