"2513058968709111" /> यात्रा डायरी - अनिश शर्मा गैरे
Breaking News
recent

यात्रा डायरी

22 Feb 2017
मलाई यात्रा नमिठो लाग्छ ।यात्रामा पिउने स्प्राईट पनि नमिठै हुन्छ। यात्रामा आउने सुन्दर युवती पनि नमिठै हुन्छन।सायद यो मेरो मात्र बिशेषता हो।
कस्तो थोत्रो गाडी ! अहँ म यो भन्दिन । सधै थोत्रो गाडीको थोत्रो सिटमा म बसेको हुन्थे म थोत्रो मन लिएर।
हुन त गाडी थोत्रो नभएनी परिस्थिति थोत्रो छ । कल्ले के गर्यो र? त्यही अगाडि बसेकी सुन्दर युवतीले नै हो भर्खरै वान्ता गरेर मेरो मन नै चुडालेको।
म त सोच्दै थिएँ, कत्ती राम्रा हात, कत्ती राम्रो अनुहार, कत्ती मीठो हाँसो, अनि कत्ती सुगन्धीत बाल उनको । मलाई के था त्यति राम्रा ओठ बाट पनि ……हुलुलु …… निस्कन्छ भनेर!
मन त बर्बाद पारी, धन्न मेरो कपडा बर्बात पारिन ।
बिचरी !के गरोस, म पनि पहिलो पटक काठमाडौ जाँदा यस्तै गरेको थिएँ, त्यतिबेला अरुले भने हुन, कत्ती फोहोरी बाहुन पुड्के यो ।
****
बस बिग्रीयो बिहुँको टापु भन्ने ठाउमा । अघि एक मदिराले मातेका बाजेले गरेको कुरो सम्झिएँ ।
'ब बा बा बाग्लुङ पुग्न कतिबेर लाग्छ'?
'अझ दुइ घण्टा'
'हैन ककक कत्ती ढिला चलाको? म मम मलाइ चलाउन देउ, नत्र अलिक हुईईइक्याउ'
चालक हास्यो एकटक, एकटक उसको हासोमा मेरो पनि हाँसोले साथ दियो ।
अनि कत्ती नमिठो घत्रङघत्रङ् !मदिरा पिएकि श्रीमतीले गाली गरेजस्तै नमिठो छ आवाज। मदिरा भन्दा अर्को याद आयो । एउटि आमाले दुई ग्यालिनमा रक्सी लिएर मेरो कोखैमा राखिन । म गाडीको छेउ सिटमै छु । त्यसैले गन्ध पनि पहिल्लै मलाइ आउँछ ।
'यसरी बसमा रक्सी लैजादा पुलिसले छोप्दैनन्?'
'ह्या कुरो नअर पुलिस मोरो को, आफैले खान पाए मख्ख हुन्तो होला'
एकछिन हासोका आवाजहरु मडारिए बस वरिपरि ।
कोखैमा मेरो मित्र प्रकाश बसेको छ, बिगतका बर्षका मेरो यात्राको बान्ता भएको देखेर र आज केही नभएको देखेर होला, भन्दै छन-'मसँग यात्रा गर्नेलाइ अहिले सम्म गाडी लागेको थाहा पाएको छैन, तिमिलाइ पनि मेरै साथको नतिजा हो'
मैले मुसुक्क हाँसेर समर्थन गरिदिएँ । अनि फेरि भनेँ -' त्यसो भए मेरो दाइको बिहेमा किन रोक्न सकेनौ'?
'मेरो कोखैको सिटमा थिएनौ नि त त्यसैले'
मैले जित्न सकिन उसलाइ, अनि फेरि पनि समर्थनको जनाउ सहित टाउको हल्लाइदिएँ ।
जसरी पनि मलाइ यात्रा नमिठो हुन्छ, बोरिलो , बोझिलो,अनि अपत्यारिलो । एकपटक यात्रामा होमिन्छु, यातनाको लागि गए जस्तै हुन्छ ।सजाय पाउनकै निमित्त गएजस्तै हुन्छ ।
शरीर कक्रक्क परेको छ । अघिपछी सर्लक्क परेका मेरा घुँडाहरु आज कच्याक्क परेर गुम्सिएका छन, भन्दा हुन एक्छिन मेरो पोजिसनमा बस्न दे ।नत्र सिटमै आत्महत्या गर्दिन्छु।
दौडिदै छु, म होइन गाडी दौडिदै छ ।गाडी साथै सेकेन्ड सेकेन्डमा कत्ती ठाउँ फेरिदिन्छ यसले । मनले जस्तै , प्रत्येक ठाउँ छोड्दा मेरो मनका तहहरु पनि फेरिन्छन् ।अनि यो चिसो सिरेठोले कुनै पनि बस्तुको मोहबाट टाढा लैजान सक्दैन। मैले त्यो हावालाई प्रेम गरेको छु जसलाई अहिले सम्म स्पर्श गर्दै दौडिएँ । र लाग्छ स्पर्श गरेका चिज सबै प्रीय हुन्छन् । लगभग प्रेम पनि।
ढाड मसक्क भइसकेको छ, सोंच्छु, यहि ओर्लिएर सडकमै सुतिदिउँ ! शरीर लगातार १५ घण्टाको यात्राले थकित छ, निद्रा आउँदैन ,, अँध्यारो छ वरिपरि,, सबै पल्टिएका छन् लास जसरी।
म विवश छु यात्रा गर्न! यहि कच्याककुचुक पर्न खोज्ने गाडी नै आज मेरो काम गरिदिने साथी हो, मेरो अबको भविष्य यहि गाडीको ह्याण्डलमा छ । र गाडिको भविष्य मेरो खल्तीमा कच्याक्कुचुक परेको नोटमा छ।
र,
ड्राइभरले सोच्दो हो, मैले यति साराको जीवनलाइ जीवन्त तुल्याइरहेछु, मैले सोचिरहेछु कि मेरो पकेटको कच्याककुचुक परेको नोटले उसको आजको छाक टर्नेवाला छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.