"2513058968709111" /> ‘पकाएर त खानुस्, पल्कनुहुन्छ’....................... - अनिश शर्मा गैरे
Breaking News
recent

‘पकाएर त खानुस्, पल्कनुहुन्छ’.......................

काठमाडौं, भदौ २० 
हेर्दा पनि पोल्लाजस्तो तिखो काँडा र झुस भएको सिस्नोको झाङ । बाटो हिँड्ने धेरैजना सिस्नोको पातले छुने हो कि भनेर अलि परबाट ओहोरदोहोर गर्छन् ।
तर केही महिलाहरु हातमा चिम्टा र प्लाष्टिकको थैलो बोकेर त्यही सिस्नोको झाङभित्र पसेर पात टिप्दैछन् । ‘पोल्छ भनेर डराएर के गर्नु, यसमै छ स्वाद र औषधी’ चिम्टाले सिस्नोको पात टिप्दै गरेकी शान्ति लामाले भन्नुभयो, ‘भरेको छाक पनि टर्छ, रोग पनि निको पार्छ ।’ हातमा पातले यसो छोयो भने पनि पोल्छ । त्यसैले निकै होशियारीपूर्वक चिम्टाले पात टिप्नुपर्छ । त्यसमाथि सबै पात मीठो पनि हुँदैन । कलिला छान्नुपर्छ । ‘धेरैबेर लगाएर एक झोला बनाउन सकियो भने एकछाक पुग्छ’ लामासँगै सिस्नोको पात टिप्न आउनुभएकी वसन्ती पुनले भन्नुभयो, ‘पकाउन त अरु तरकारी पनि किन्न सकिन्छ, तर सिस्नोले फाइदा गर्ने भएकाले आपद गरेर टिप्न आएको हो ।’
काठमाडौंको कीर्तिपुर बस्ने शान्ति लामा र वसन्ती पुन यो बेला यसैगरी सिस्नो टिप्न पाखा र खोल्सातिर चाहार्नुहुन्छ । घरैघरले भरिन लागेको काठमाडौंमा सिस्नो पाउन पनि मुश्किल छ । खोला किनार र पाखामा सिस्नो पाइन्छ । ‘दुई मुठी जति टिपेर लानुस्, अनि राम्रोसँग पकाएर खानुस् त तपाईं पनि पल्कनुहुन्छ’ शान्तिले भन्नुभयो । यसलाई कसरी पकाउने त ? उहाँलाई पकाउने तरीका कण्ठै छ–‘चिम्टाले यसैगरी टिपेर घर लैजानुहोस्, चिम्टाले नै समाएर डेक्चीमा राख्नुहोस् । पानी हालेर एकछिन उसिन्नुहोस् । उसिनेपछि पोल्ने विष सबै झर्छ । त्यसपछि राम्रोसँग पखालेर मसिनो पारेर काट्नुहोस् । मकैको पिठोमा फिटेर दाल पकाए झैं पकाउनुहोस् । नुन र लसुन मात्रै हालेपनि स्वादिलो हुन्छ ।’
गरीबको तरकारी भनेर पहिले पहिले हेलाँमा परेको सिस्नोको हिजोआज यसैगरी खोजी हुने गरेको छ । रेष्टुरेन्टमा समेत परिकारको रुपमा सिस्नो सजाएर राखिएको पाइन्छ । यसलाई तरकारीसँगै धुलो बनाएर सुपको रुपमा प्रयोग गरिन्छ । यसको धुलोको माग स्वदेशदेखि विदेशसम्म हुन थालेको छ । सिस्नोको तरकारी या सुप बनाएर खाँदा मधुमेह, उच्च रक्तचाप, रक्त अल्पता, पिसाब तथा पेटसम्बन्धी समस्या ठीक हुने डाक्टरहरु बताउँछन् । उनीहरुका अनुसार सिस्नोमा प्रोटिन, फ्याट, क्रुड फाइवर, कार्बोहाइट्रड, इनर्जी, आइरन र क्याल्सियमजस्ता पौष्टिक तत्व हुन्छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.